काठमाडौं–संघीय राजधानी काठामाडौंमै बसभित्र एक व्यक्ति लुटिएका छन्। सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय एक पुरुष लुटिएका हुन्। उनको साथमा रहेको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर ईमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ छन्।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाँदै थिए।
सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरी तिनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
घटनामा संलग्न भई फरार भएका अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।