काठमाडौं– प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक (आईजी) धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उक्त कार्यक्रममा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
समारोहमा आईजी सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गरे।
पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिए।
प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठन आफैंमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीहरूको समान मूल्यांकन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताए।
संगठन बलियो भएमात्र व्यक्ति बलियो हुने भएकोले सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल्य मान्यता राख्दै अनुशासित ढङ्गले काम गरी आगामी पुस्तालाई राम्रो सन्देश हस्तान्तरण गर्नुपर्ने उनले बताए ।
समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए. एम. चन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरूपयोगका कारण अपराधको क्षेत्रमा देखापरेका नविनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्ययोजना, संगठनको मूल्य मान्यता र नीति नियमको अधिनमा रही इमान्दारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।