काठमाडौं– प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा संयुक्त राष्ट्रसंघ विरुद्धको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिक छन्।
कंगोमा शान्ति स्थापनार्थ तैनाथ संयुक्त राष्ट्रसंघको (मोनुस्को) मिसनको विरोधमा स्थानीय जनताहरुले विरोध प्रदर्शन गर्दै आएका छन्। सोमबार (साउन ९ गते)देखि सुरु भएको प्रदर्शनको दोस्रो दिन हिंसात्मक घटना हुन पुगेको हो।
उक्त मिसनमा नेपाली शान्ति सैनिक समेत सम्मेलित छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त मिसनमा तैनाथ नेपाली शान्ति सैनिक र पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी दिए। साथै, उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न भनिएको सहायक रथी सिलवालको भनाइ छ।
'संयुक्त राष्ट्रसंघको मोनुस्को मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा सहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विरोध प्रदर्शन गरेका छन्। मिसनसँग सम्बन्धि केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु भएपछि परिस्थित हिंसात्मक बनेको सूचना पाएका छौं,' सिलवालले नेपाल लाइभसँग भने, 'मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित छन्। युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, निरन्तर अनुगमन गर्न तथा शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन
निर्देशन दिइएको छ।'
स्थानीयको आक्रमणमा परि ज्यान गुमाउने शान्ति सैनिकमध्ये २ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सदस्य रहेका जनाइएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले उनीहरुको मृत्युप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कंगोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार प्रदर्शनकारीहरूले कङ्गेली प्रहरीबाट हतियार खोसेर शान्ति सेनामा खटिएकाहरुमाथि गोली चलाएका थिए। उनीहरुले ढुङ्गा र पेट्रोल बम प्रहार, लुटपाट तथा तोडफोड समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।