काठमाडौं– आइतबारको दिन, नेपाली समय लगभग बिहानको ७:३० बजे। आँखा झिमिक्क नगरी सबैजनाको नजर टेलिभिजन सेटमा थियो। उनीहरु ओलम्पिक गोल्डेन ब्वाइ नीरज चोपडालाई हेरिरहेका थिए।
३९ वर्ष पुरानो विश्व एथलेटिक्स च्याम्पियनसिपमा भारतले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। तर, गत वर्ष टोकियो ओलम्पिकअन्तर्गत ज्याभलिन थ्रोमा १२० वर्षको पदक खडेरी अन्त्य गर्ने नीरजको सहभागिताले भारतको सपना पूरा हुने अपेक्षा गरिएको थियो।
तर, भारतको सपना यसपटक पनि साकार हुन सकेन। यसपटक पनि भारत नीरजको रजतमै चित्त बुझाउन बाध्य भयो।
यद्यपि, नीरजले १९ वर्षपछि विश्व एथलेटिक्स च्याम्पियनसिपमा देशलाई पदक दिलाएका हुन्। नीरजभन्दा अगाडि अन्जु बबी जर्जले सन् २००३ मा लङ–जम्पमा कास्य जितेकी थिइन्।
नीरज विश्व एथलेटिक्स च्याम्पियनसिपमा रजत जित्ने पहिलो भारतीय खेलाडी बनेका छन्। साथै, उनी पदक जित्ने पहिलो भारतीय पुरुष खेलाडी पनि।
नीरजले रजत जितेपछि बुबा सतीश कुमारको आँखामा आँसु सम्हालिन सकेन। यता, आमा सरोजदेवी पनि खुशीले नाच्न थालिन्।
देशको राजधानी दिल्लीमा पनि उत्सव मनाइन थालियो। प्रधानमन्त्री नरेन्द्र मोदीले त ट्वीट गर्दै भने–‘हाम्रा सबैभन्दा प्रतिष्ठित खेलाडीमध्ये एक नीरजलाई अर्को ठूलो उपलब्धिको लागि धेरै धेरै बधाइ। यो भारतीय खेलकुदका लागि विशेष क्षण हो। नीरजलाई उनको आगामी प्रयासको लागि शुभकामना।'
फाइनल सुरु हुनासाथ सबैजना टेलिभजन स्क्रिन अगाडि बसेका थिए। सुरुमा नीरजको ओपनिङ थ्रोबाट सबैजना निराश थिए। त्यसपछि ग्रेनाडाका एन्डरसन पिटर्सले ९० मिटरभन्दा पर भाला फ्याँकेपछि नीरजको हातबाट स्वर्ण चिप्लिने लगभग पक्काजस्तै देखिन्थ्यो।
त्यसपछि सबैजना एकाएक शान्त भए। तर, खेलमा ‘ट्वीस्ट’ आउन बाँकी नै थियो। नीरजले दोस्रोमा ८२.३९ र तेस्रोमा ८६.३७ मिटर थ्रो गरे। जुन पदकका लागि पर्याप्त थिएन। त्यसपछि नीरजले चौथो प्रयासमा ८८.१३ मिटर थ्रो गरेपछि गाउँमा खुसीको लहर छायो।
सबैजना चिच्याउन थाले। नीरजको रजत घोषणा हुनेवित्तिकै बुबा सतीशले छोराको उपलब्धिको खुसी मनाउँदै भने,‘देशका लागि अझै स्वर्ण ल्याउन बाँकी छ।’ नीरजकी आमा सरोज देवी पनि आफू निकै खुसी भएको बताइन्। ‘मिहिनेतको फल पाएको छ। हामी यो प्रतियोगितामा पदक जित्नेमा ढुक्क थियौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।