रूपन्देही– नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालकसहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन्।
रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आईतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरुले आइतबार दिउँसो चोरी गरी भागेका थिए।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो।
थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा विजयले करिब एक महिनाअघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाई बजारमा भीडभाड भएको ठाउँमा लगि बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।