काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले 'जेम्स वेब स्पेस टेलिस्कोप'ले खिचेको ब्रह्माण्डको थप तस्बिर सार्वजनिक गरेको छ।
यसअघि सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ले लिएको पहिलो रंगीन तस्बिर सार्वजनिक गरेका गरेका थिए। सोमबार साँझ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उनले यो तस्बिर सार्वजनिक गरेका थिए।
नासाले बुधबार थप गाढा चहकिलो र स्पष्ट तस्बिर सार्वजनिक गरेको हो। नासाले सार्वजनिक गरेको यो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट भएको बताइएको छ। हजारौं आकाशगंगाहरु जेम्स वेब टेलिस्कोपको एउटा तस्बिरमा अटाएको नासाले जनाएको छ।

बाइडेनले उक्त तस्बिर सार्वजनिक गर्दा ऐतिहासिक दिन भएको बताएका थिए। उनले संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोपले तस्बिर खिचेसँगै ब्रह्माण्डको इतिहासमा नयाँ बाटो खुलेको पनि बताएका थिए। सार्वजनिक भएको तस्बिरमा हालसम्म नदेखिएका थुप्रै बह्माण्डहरु देखिएका छन्।

गत महिनाको पत्रकार सम्मेलनमा नासाका प्रशासक बिल नेल्सनले भनेका थिए, ‘हामीले मानवतालाई ब्रह्माण्डको नयाँ दृष्टिकोण दिन लागेका छौं। र, यो दृश्य त्यस्तो दृश्य हो जुन हामीले यसअघि देखेका थिएनौं।’
९ बिलियन अमेरिकी डलर बराबरको जेम्स वेब टेलिस्कोप सन् २०२१ डिसेम्बरमा पृथ्वीबाट अन्तरीक्षमा पठाइएको थियो। यो टेलिस्कोप ३० वर्ष पुरानो हब्बल स्पेस टेलिस्कोपको तुलनामा सय गुणा थप शक्तिशाली र संवेदनशील रहेको बताइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।