काठमाडौं-चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान छाओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
भेटवार्ताका लागि लिउ नेतृत्वको टोली दाहालनिवास खुमलटार पुगेको थियो। त्यस अवसरमा लिउले आफूहरु नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारेका छन्। भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका विदेशविभाग प्रमुख नारायणकाजी श्रेष्ठले सीपीसीका विदेश विभाग प्रमुखले चीनले नेपालका पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रष्ट पारेको जानकारी दिए।
‘हामी नेपाल र नेपालका कुनै पनि राजनीतिक पार्टीहरुको मामिलामा हस्तक्षेप गर्दैनौं त्यो चीन र चिनियाँ कम्युनिष्ट पार्टीको नीति नै छैन,’ भेटपछि उनको भनाई उधृत गर्दै श्रेष्ठले भने। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता अनुसार नेपालले ठोस योजना छनोट गरेमा ठोस रुपमा छलफल अघि बढाउन सकिने नेता लिउले बताएका छन्।
भेटका क्रममा माओवादी दाहालले नेपाल एक चीन नीतिप्रति सधैं प्रतिबद्ध रहेको बताएका थिए। उनले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउले चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएका छन्।
लिउसहितको ७ सदस्यीय टाेलीले प्रचण्डसँग सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो भेट गरेको थियो। लिउको स्वागतमा साेमबार नै दाहालले होटल सोल्टीमा रात्रिभोज आयोजना गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।