काठमाडौं–प्रधानसेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निर्वाह गर्दै आएको बताएका छन्।
नेपाली सेनाको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाले सोमबार आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गरे। रणनीतिक र दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उनले बताए। उनले भने, ‘विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ।'
आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताए। लेख रचना मूल्याङ्कन समितिका प्रा डा ध्रुव कार्कीले सेनाले लेख रचनाको सङ्कलन र प्रकाशन गर्दा सेना र प्राज्ञिक क्षेत्रको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरे।
प्रधान सेनापति शर्माले खुला सामरिक लेख रचना प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार प्रदान गरे। आशिष अधिकारीको लेख पहिलो, वीरञ्ची पौड्यालको दोस्रो र अशोक ढकाल र सपना पाठकको लेख तेस्रो भएको छ। पुरस्कारको राशि पहिलो हुनेलाई दुई लाख रुपैयाँ, दोस्रोलाई एक लाख ५० हजार र तेस्रोलाई एक लाख रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।