काठमाडौं– विगत १ वर्षको अवधिमा सेयर बजार १ हजारभन्दा बढी अंकले ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार १ वर्षको तुलनामा सेयर बजार परिसूचक नेप्से १०२९.४ अंकले ओरालो लागेको देखिएको छ।
२०७८ जेठ मसान्तमा ३०२५.८ को विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७९ जेठ मसान्तमा १९९६.३ पुगेको छ। यसैगरी, २०७८ जेठ मसान्तससम्म ४२ खर्ब १६ अर्ब रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण २०७९ जेठ मसान्तसम्म आउँदा २८ खर्ब ४४ करोड रुपैयाँमा सीमित भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या भने बढेको छ। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार गर्ने कम्पनीको संख्या २३२ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.७ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १०.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।