काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा मामिलासँग आफू दिक्क भएको बताएका छन्। सोमबार सम्पादकहरुसँगको अन्तर्क्रियामा भ्रष्टाचार र अनियमितताको विषयमा प्रमुख प्रतिपक्षी दल अख्तियारसम्म जाने हो? भन्ने प्रश्नमा उनले प्रधानमन्त्री हुँदाको अनुभव सुनाएका हुन्।
उनले सुर्खेतमा धाराका टुटी बिग्रियो भने जिल्ला अदालतमा सरकारका कमजोरीले धाराको टुटी बिग्रियो भनेर मुद्दा हालिदिने र अदालतले 'इन्जोय' गर्ने गरेको बताए। 'प्रधानमन्त्रीको कामै छैन देशमा? सरकार चलाउनुपर्दैन? जनताका कुरा सुन्नुपर्दैन? जनताका समस्या समाधान गर्नुपर्दैन? नीति बनाउनुपर्दैन? मुद्दा अध्ययन गर्दा र लेख्दा ठिक्क हुन्छ', उनले भने।
उनले प्रधानमन्त्री कार्यालयमा ५/७ जना, ८/१० जना वकिलको पंक्ति राखेर बिहानदेखि आएर त्यही मुद्दा हेर्ने र प्रतिवाद लेख्ने काममा लाग्ने गरेको बताए।
'एउटा मुद्दामा छोटो भए पनि कम्तीमा १० पेजको प्रतिवाद लेख्नुपर्छ। एउटा मुद्दा १० पेज लेख्दा हरेकको तीन प्रति लेख्नुपर्छ। र प्रधानमन्त्रीले तीनै प्रतिमा सही गर्नुपर्छ। तीस पेज त भयो। तीस पेजमै सही गर्नुपर्छ र फेरि शीरमा र तीरमा सही गर्नुपर्छ। सही गर्नुपर्छ छोटो भयो भने एउटा मुद्दा नत्र यति ठूलो ढड्डा हुन्छ। त्यसमा सही गर्नुपर्छ', उनले भने।
उनले आफू प्रधानमन्त्री हुँदा मोटामोटी हिसाब गर्दा मुद्दाको प्रतिवादमै ५५/५६ हजार सही गरेको बताए। औंला देखाउँदै उनले भने, 'यहाँनेर ठेला उठेको छ। कम्प्युटरले सही गर्दैन, आफैंले गर्नुपर्छ। सही मात्रै गर्दा पनि औंलामा ठेला उठ्यो।'
उनले पार्टीको रुपमा अख्तियार र अदालत नजाने बरु जनताकहाँ जाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।