काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको देशको आर्थिक सूचाङकहरु सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ बराबर विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३.८ प्रतिशतले बढी हो।
गत वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाल भित्रिने रेमिट्यान्स रकम बढ्दै गएको देखिएको छ। जेठ एक महिनामा मात्रै ९२ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख १३ हजार ३६७ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले बढेर २ लाख ५९ हजार ०९१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले बढेर १० खर्ब ०६ अर्ब ७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।