काठमाडौं– अर्बपति व्यापारी एलन मस्क माइक्रोब्लगिङ् साइट ट्वीटर खरिद गर्ने ४४ अर्बको सम्झौताबाट पछि हटेका छन्। पहिले दाबी गरेजस्तो आफ्ना कूल प्रयोगकर्ताहरुमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन ट्वीटर असफल भएको भन्दै मस्क खरिद सम्झौताबाट पछि हटेका हुन्।
मस्कको उक्त निर्णयपछि ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि सम्झौता पूर्ण रूपमा लागू गराउन मस्कमाथि मुद्दा दायर गर्ने बताएका छन्।
उक्त खरिद सम्झौताको कानुनी लडाइँ भने जटिल र लामो हुनसक्ने ठानिएको छ। प्रारम्भिक खरिद सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो।
गत मे महिनामा मस्कले ट्वीटरमा रहेका नक्कली र स्प्याम खाताबारे विवरण कुरिरहेको भन्दै उक्त सम्झौता 'अस्थायी रूपमा यथास्थिति'मा राखिएको बताएका थिए।
ती अर्बपति व्यापारीले कम्पनीले दाबी गरेजस्तै कूल प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम त्यस्ता खाताहरू रहेको पुष्टि हुने प्रमाण दिन ट्वीटरलाई भनेका थिए।
बीबीसीले लेखेअनुसार मस्कले ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भनेर सूचना लिन चाहेको हप्तौँ बितिसकेको छ।
खरिदबारे लिखित सम्झौता भइसकेकाले अहिलेको चरणमा उनी सम्झौताबाट पछि हट्न सक्छन् कि सक्दैनन् प्रस्ट छैन। तर ट्विटरले आफूहरुबीच भएको सम्झौताको मस्कले उल्लङ्घन गरेको प्रमाणित गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।