काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दबाब दिन शुक्रबार देशभर प्रदर्शन र ७७ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।
असार १ गते राप्रपाले प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासँग सम्बन्धित विविध २२ बुँदे मागसहितको ज्ञापनपत्र पेस गरेको थियो।
उक्त बुँदामा उल्लेखित माग पूरा गराउनका लागि दबाब दिने उद्देश्यले असार १३ गतेदेखि राप्रपाले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ। यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो।
आफ्नो माग सम्बोधन गर्न राप्रपाले असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस निकालेको थियो। असार १९ गते राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको थियो।
सोही कार्यक्रमको निरन्तरता स्वरूप शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्दै धर्ना दिएको छ।
राप्रपाको विद्यार्थी संगठनले असार २७ गते देशका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र असार ३१ गते महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।