गण्डकी– प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ। बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गरेको हो।
बैठक सुरु भएलगत्तै एमालेका प्रदेश सभा सदस्यहरु उठेर विरोध जनाएका थिए। एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रमुख सचेतकलाई समय दिएका थिए। सत्ता पक्ष दलहरुले बजेट आफू अनुकूल वितरण गरेको र भागबण्डा गरेको आरोप लगाउँदै एमालेले विरोध गरेको हो।
गण्डकीका नेकपा एमालेका सांसद रामशरण बस्नेतले अर्थमन्त्री रामजी बरालले कानुनी मूल्य र मान्यता विपरीत बजेट आएको दाबी गरे।
कानुन विपरीत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा बजेटमा उल्लंघन गरिएको उनको आरोप छ।
यसबारे आयोगले असार १३ गते प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाइसकेको तर सत्ता पक्षले त्यसलाई बेवास्ता गरेको एमालेको आरोप छ।
अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने भएको भन्दै सभामुखले बैठक सुचारु गर्न आग्रह गरे। विरोधमा रहेका सांसदहरुलाई बसेर सहयोग गरिदिन अनि अर्थमन्त्रीले जवाफ दिन पाउने आग्रह गरे। तर, एमाले सांसदहरुले अस्वीकार गरेर विरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।