काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन्।
काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताए।
अर्थमन्त्रीका रुपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे।
उनले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको बताए। 'अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टिकरण दिँदै आउनुभएको र बुधबार संसद्मा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ', अध्यक्ष प्रचण्डले भने।
बजेट निर्माणको अन्तिम दिन अनाधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए। त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।