सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्वीट्जरल्यान्ड का राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन्।
मंगलबार भएको भेटमा संघीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरुलाई परिरहेको मानसिक स्वास्थ्य सम्बन्धी असर, कर्णालीको सडक गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो।
भेटका क्रममा स्वीट्जरल्यान्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालिन मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा पनि छलफल भएको थियो।
स्वीट्जरल्यान्ड सरकारको सहयोगमा सीएमसी नेपालले कर्णालीका तीन जिल्लाका ६ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ।
भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेकी थिइन्।
उनले द्वन्द्वपीडितहरुको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिइन्।
भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको बताए।
‘द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ,’ मुख्यमन्त्री शाहीले भने, ‘ राहत, जीवननिर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौं।’
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको जानकारीसमेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।