काठमाडाैं-नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले संसद् र संसद्बाहिर समेत प्रश्न उठेकाले शर्मा पदबाट अलग हुनुपर्ने माग गरेका हुन्। साेमबार नै प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए। उनले अर्थमन्त्रीको नैतिकता नभएकाले राजीनामा भन्दा कारबाहीतिर जानुपर्ने तर्क गरेका थिए।
अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको तर्क थियो।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वउपकूलपति केदारभक्त माथेमा र गोविन्द केसीले पनि अर्थमन्त्रीकाे राजीनामा माग गरेका थिए।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाे भन्दै आलोचना र राजीनामाको माग उठ्दै आएको छ।
‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर अरु मेटिएको भनेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ ’ उनल भने ‘कानुनले तीन महिनासम्म सुरक्षित राख्नुपर्ने किन मेटियो?’
हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनेकाे भन्दै उनले करको दर भनेको सामान्यकुरा नभएको दाबी गरे। उनले यो मानवीय कुरा नभएको र यो डिलिट भयाे भनेर त्यतिकै नहुने बताए। उनले कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट भाग्न पाउने कुरा नहुने बताए।
‘दोषी हो भने कारबाही हुन्छ नभए सफाइ पाउँछ’ उनले भने ‘अर्थमन्त्रालयले हार्ड डिस्क नै ल्याएर देखाउन सक्छ। हामीले अनौपचारिक रुपमा भनिसेकका पनि छौं। ’ उनले प्रधानमन्त्रीले नै एक्सनमा गएर अघि बढाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।