काठमाडौं- बागमती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै पछिल्लो समय नेपाली कांग्रेसले दबाव सिर्जना गरिरहेको छ। केहीदिन अघि नेपाली कांग्रेसले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई समर्थन दिँदा भएको सहमति पत्र सार्वजनिक नै गरेको छ।
६ महिनापछि पाण्डेले सरकारको नेतृत्व छोड्नुपर्ने भनिएको सहमति पत्र सार्वजनिक भएसँगै सातवटै प्रदेशका मुख्यमन्त्री फेरिने चर्चा पनि सुरु भएको छ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा पहिलो दल छ। त्यस कारणले पनि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीले केन्द्रीय नेतृत्वलाई दबाव दिइरहेको छ। तर, अहिले बागमती प्रदेशमा राजेन्द्र पाण्डेले सरकारको नेतृत्व छाड्नुपर्ने भन्दै कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन गरिरहँदा एकीकृत समाजवादीले भने कुनै प्रदेशको सरकार परिवर्तन नहुने बताएको छ।
एकीकृत समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता गठबन्धनमा सहमति नभइ प्रदेश सरकारहरु नफेरिने बताए। ‘मुख्यमन्त्री फेर्ने भन्ने विषय गठबन्धन दलमा सहमति नभइ हुँदैन’ उनले भने।
उनले बागमती प्रदेश विशेषलाई मात्रै फेर्ने भन्ने विषय अहिले तत्कालको विषय नभएको बताए।
‘सातवटै प्रदेशमा मुख्यमन्त्री फेर्ने भन्ने गठबन्धन दलमा सहमति भएमा त्यो कार्यान्वयन होला। तर, अहिले कुनै स्थान विशेषको मुख्यमन्त्रीले छोडेर अर्कोले नेतृत्व गर्ने भन्ने विषय कार्यान्वयन हुन सक्दैन,’ उनले भने, ‘भए सातवटै प्रदेशमा हुन्छ। तर, एक ठाउँको मात्रै हुँदैन। त्यस विषयमा गठबन्धनमा छलफल भएर निर्णय हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।