काठमाडौं- नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माबाट नैतिकताको अपेक्षा नगरिएको बताएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा नगरिएको बताएका हुन्।
'अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा छैन। उहाँसँग त्यो अपेक्षा गर्दैनौं। त्यस्तो अपेक्षा गर्नु बढी नै हुन्छ। प्रधानमन्त्री देउवा के हेरेर बस्नुभएको छ?' सोमबार प्रतिनिधि सभा बैठकमा उनले प्रश्न गरे, 'सप्रमाण संसदमा उठेपछि प्रमुख प्रतिपक्ष दलले उठाएपछि सरकार किन टुलुटुल हेर्न विवश हुन्छ?'
उनले अर्थमन्त्री शर्माका विषयमा कुरा उठाउँदा आफ्नो सेटिङ समेत खुल्ने डरले हो कि? भन्दै प्रश्न तेर्स्याए र लहरो तान्दा पहरो गर्जिने अवस्था आउनसक्ने आशंका गरे।
सीसीटीभी फुटेज डिलिट गरिएको उल्लेख गर्दै उनले आफैं डिलिट नहुने दाबी गरे। 'त्यससँग विज्ञ साथीहरु त्यसको क्षमता अनलिमिटेड हुन्छ भन्नुहुन्छ। डिलिट भयो भने पनि रिड्राइभ गर्न सकिन्छ। सत्यतथ्य खोजी गरौं। सभामुखले पनि मौनता साँध्न मिल्दैन। रुलिङको अपेक्षा गरिन्छ,' भट्टराईले भने।
त्यसअघि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सविस्तार बताएका थिए। एमालेले संसदीय छानबिन समितिका लागि रुलिङको अपेक्षा गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले भने अनिच्छा देखाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।