काठमाडौं- बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको छ।
उक्त विषयमा छानबिन हुनुको सट्टा सीसीटीभी फुटेज नै डिलिट गरिएको भन्दा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले छानबिनको माग गरेका हुन्।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्लै ओलीले यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर रुपमा लिनुपर्ने बताए। उनले भने, 'प्रधानमन्त्रीले गम्भीरताका साथ अघि बढाउनुपर्छ। छानबिन समिति बनाएर छानबिन गर्नुपर्दछ। निष्पक्ष कमिटी बनाएर छानबिन गर्नुपर्दछ।'
उनले बजेटमा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गराएर सेटिङ गरिएको बताउँदै यो अन्तर्राष्ट्रिय लज्जाकै विषय भएको बताए।
उनले भने, 'अर्थतन्त्रको अस्मितलाई नै लुट्ने काम भयो। आर्थिक अनुशासनहीनता यो भन्दा अर्को नमूना हुन सक्दैन। बजेट व्यापारीका प्रतिनिधि राखेर बनाइन्छ भने यो भन्दा अन्तर्राष्ट्रिय लज्जा के हुन्छ?'
उक्त विषय प्रमाणित हुनसक्ने देखेर सीसीटीभी फुटेज नै डिलिट गरिएको उनले बताए। 'अब त हुँदा-हुँदा फुटेज डिलिट गरियो। डिलिट गर्न पाइन्छ? स्वच्छता प्रमाणित गर्ने मन्त्री आफ्नै कर्तव्य हुन्छ। आफैले भन्नुपर्थ्यो- आउनुहोस् छानबिन गरौं। आउनुहोस् सीसीटीभी फुटेज हेरौं,' ओलीले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।