काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एसपीपीका सम्बन्धमा सेनाले पठाएको भनिएको पत्रका सन्दर्भमा आफूले कुनै निर्देशन र निर्णय दिएको भए स-प्रमाण सबुत सदनमा पेस गर्न सरकारलाई चुनौती दिएका छन्।
प्रतिनिधि सभामा सोमबार विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता ओलीले यस्तो चुनौती दिएका हुन्। ‘सरकारी कागजपत्रमा त्यस्तो चलानी नम्बर पठाउने मिति हातले लेख्ने प्रचलन हुँदैन। तर, म प्रधानमन्त्री भइसकेपछि पठाइएको भनेर भनिदै छ। त्यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘यो नेपाली सेनाले प्रचलन भनेको छ। प्रधानमन्त्री र रक्षा मन्त्रीलाई पनि नबताउने भन्ने प्रचलन हुन्छ र तत्कालीन प्रधानमन्त्री त्यस सम्बन्धमा कुनै निर्णय निर्देशन दिएको छ? प्रमाण सबुत छ भने सरकारले सदनमा पेस गरोस् म आग्रह गर्न चाहन्छु।’
उनले एसपीपीको बाहिर आएको भनिएको मस्यौदा गम्भीर विषय भएको भन्दै प्रधानमन्त्रीले संसद्लाई प्रष्ट जानकारी दिनुपर्ने बताए।
‘राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रसँग जोडिएको विषय हो। एसपीपीसँग उठेको विषय निकै गम्भीर छ। बाहिर आएको मस्यौदा धेरै गम्भीर छ,’ उनले भने, ‘विदेशी सैनिक अड्डा, कुनै विदेशी सैनिक इकाइको प्रतिनिधिका रुपमा रहने र उच्च पहाडी भूभागमा सैन्य अभ्यास आदी कुरा घातक हुन्छन्।’
उनले प्रधानमन्त्रीलाई कुन मितिमा कसका पालमा निर्णय भएको हो त्यसको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।