काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एसपीपीका सम्बन्धमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नगराइएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘अब चाँही अति नै भयो। सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो। जस्तो एसपीपीको विषय के हो? एकजना सत्तापक्षका नेताले मेरै पालामा आएको थियो र पछि हामीले रद्द गरेको भन्नुभयो,’ उनले भने, ‘यस्तो भ्रम राज्यमा बसेका नेताहरुले गर्न पाउँदैनन्। म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौं २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ।’
‘सरकार परिवर्तित भएको र नव गठित सरकारलाई जानकारी गराइएको थिएन। यसमा नेपाली सेनाको यस्तो चर्चामा आउनुपर्ने संस्था होइन। किन आयो भने सेनाले सोझै विदेशी दूताबासलाई पत्राचार गर्ने कुरा गर्ने यी कुटनीतिक मर्यादा प्रचलन केही अनुसार पनि भएनन्,’ उनले भने, ‘त्यति बेला प्रधानमन्त्री रक्षामन्त्रीलाई कुनै कुरा पनि अवगत गराइएन। त्यसपछि यो विषय चुपचाप रह्यो कसैले चर्चा पनि गरेन।’
उनले संविधान जारी गर्दा को प्रधानमन्त्री थियो सबैलाई जानकारी नै रहेको भन्दै असोज ६ गते टिप्पणी फाइलमा कसले हस्ताक्षर गरेको थियो त्यो अध्ययन गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।