काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्कंदै छन्।
अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ। सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७:१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको छ।
यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डलका तर्फबाट सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए।
उनले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको बताउँदै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धता व्यक्त गरेका थिए।
बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता पनि गरेका उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
नेपाली संसदीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।