काठमाडौं–एमाले महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाल प्रगतिशील प्राध्यापक संगठनद्वारा शनिबार आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति : अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उनले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र संगठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलाप हुनु उचित नभएको धारणा राखेका हुन्।
उनले सत्तारूढ दलनिकटकै संगठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सहीरूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताए।
हरेक विषयलाई सहीरूपमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबीचको तादात्म्यता हुन आवश्यक भएकाले राम्रा विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा उनले जोड दिए।
उनले आँकडाहरूले दुर्गमका आम जनतामा उच्च शिक्षाको पहुँच पुग्न नसकेको र गुणस्तरीय सिकाइमा प्राध्यापकहरूमा जिम्मेवारी नभएको स्थितिप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।