काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय संयोजित संगठनहरुको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्।
उनले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए। अध्यक्ष थापाले पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६÷६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको उल्लेख गरे।
उनले यस किसिमका विकृति र विसंगतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरे।
अध्यक्ष थापाले मन्त्री हुनका लागि सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताए।
अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हीत गर्न नसकेको पनि बताए।
व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगति हुन थालेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।