काठमाडौं– नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विभाजित भएको छ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा भएसँगै अखिल क्रान्तिकारी विभाजित भएको हो। नयाँ समानान्तर समितिका संयोजक कार्की संगठनका उपाध्यक्ष हुन्।
कार्कीसहित १० जनालाई केही दिन अगाडि मात्रै अखिल क्रान्तिकारीले निलम्बन गरेको थियो।
संगठनको विधान र पार्टी नेतृत्वको निर्देशन विपरीत संगठन चलाएको भन्दै कार्कीसहितको पक्षले विरोध गर्दै आएको थियो।
कार्कीसहितका प्रवीण बस्नेत, सञ्जीव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी, पदम नेपालीलगायत नेताहरुलाई कारबाही गरिएपछि क्रान्तिकारीको विवाद उत्कर्षमा पुगेको थियो।
संगठनको पुनर्गठन र विद्यार्थी आन्दोलनलाई पुनर्जीवन प्रदान गर्न अवैध समितिहरु खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने असन्तुष्ट पक्षको माग छ।
शनिबार छुट्टै भेला बोलाएर समानान्तर समिति घोषणा गरेका उनीहरुले आफूहरुका पक्षमा देशभरकै नेता/कार्यकर्ताको समर्थन रहेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।