काठमाडौं– नेकपा एमाले बाहेकको वाममोर्चा निर्माण गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ।
शुक्रबार ललितपुरको एक निजी निवासमा भएको छलफलमा तीन नेताहरूका साथै एकीकृत समाजवादीका महासचिव बेदुराम भूसाल र माओवादी केन्द्रका नेता वर्षमान पुनसमेत सहभागी रहेको बताइएको छ।
समाजवादी कार्यदिशा अंगालेका कम्युनिष्ट र अन्य वामपन्थी दलहरूसहितको वाममोर्चा निर्माण गर्ने कुरामा छलफल चलिरेहको महासचिव भूसालले जानकारी दिए।
नेपाल लाइभको ‘समय संवाद्मा बोल्दै उनले भने, ‘समाजवादी कार्यदिशा अंगालेका कम्युनिष्ट पार्टीलाई कसरी एक ठाउँ ल्याउन सकिन्छ भन्ने हो। अर्को वामपन्थीसहितको वाममोर्चा निर्माण गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको छ।’
नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गरेर लैजाने भन्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाइ छ।
अर्को एक प्रसंगमा माओवादी केन्द्र र एकीकृत समाजवादीले राजनीतिक सहकार्य गरिरहेको बताउँदै एकीकरणका विषयमा भने प्रारम्भिक छलफल मात्र भएको उनले बताएका छन्।
उनले भने, ‘एकीकरणको सम्भावना छ वा छैन भन्दा पनि माओवादी केन्द्रसँग एकताको लागि प्रारम्भिक छलफलमै छौं।’
भूसालसँगको पूरा अन्तर्वार्ता केहीबेरमा नेपाल लाइभ डटकममा पढ्न र नेपाल लाइभको फेसबुक पेज तथा युट्युबमा हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।