काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गराएका रवि लामिछानेले आफूहरूले दल सञ्चालनका लागि कुनै पनि व्यापारीसँग चन्दा नलिने घोषणा गरेका छन्।
निर्वाचन आयोगमा दर्ता भएर निर्वाचन चिह्न पाएलगत्तै उनले यस्तो घोषणा गरेका हुन्। ‘हामी चन्दा माग्ने कुराको विरोध गर्छौं। हामी पार्टीका सदस्यहरुबाट उठाएर मात्र चलाउँछौं,’ उनले भने, ‘शुभेच्छुक र शुभचिन्तको साथ र सहयोगमा पार्टी चलाउँछौं।’
ठूला व्यापारिक घरानामा चन्दा माग्ने कुराको सधैं विपक्षमा रहेको भन्दै भोलि चन्दा लिनेहरूले पनि उनीहरूको सुभेच्छा समेट्नुपर्ने हुनसक्ने कुराबाट आफूहरू टाढा रहेको लामिछानेले बताए।
उनले व्यापारीहरूसँग चन्दा लिँदा ठूला राजनीतिक दलहरूलाई अहिले नीति निर्माणदेखि अन्य कुरामा अप्ठ्यारो परेको भन्दै आफूहरु त्यो बाटोमा नजाने लामिछानेको भनाइ छ।
पार्टीको विषयमा आउने विवाद सम्बन्धी सबै कुरा कानुनी रूपमा नै समाधान गर्ने उनले बताए। ‘उक्त समयमा जसरी आउँछ त्यसैगरी प्रतिवाद गर्नेर्छौं। निर्वाचन आयोगले कानुन हेरेर नै पार्टीको निर्णय गरेको हो’, उनले भने। उनले पार्टीमा संलग्न २१ जनाको नामावली शुक्रबार नै सार्वजनिक गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।