काठमाडौं- सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले असोज ९ गतेसम्मका लागि बिदा लिएका छन्।
लामो समयदेखि कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र कुँवरबीचमा 'टसल' जारी रहँदा उनले बिदा लिएका हुन्।
महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यकालमा मुख्य रजिष्ट्रार भएका कुँवर यसअघि उच्च अदालतमा न्यायाधीश सिफारिस हुँदा पनि अस्वीकार गरेर सर्वोच्चमै बसेका थिए।
राणाको समयमा भएका कामहरु तथा सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालको भवन निर्माणमा अनियमतिता भएको र त्यसमा तत्कालीन प्रधानन्यायाधीश राणाको हात रहेको विषय सार्वजनिक भएको थियो। राणालाई सहयोगीको रुपमा मुख्य रजिष्ट्रार कुँवरले सहयोग गरेको आरोप लाग्दै आएको थियो।
कुँवरले बिहीबारबाट लागू हुने गरी बिदा लिएको सर्वोच्च अदालत स्रोतले बताएको छ। असोज १५ गते कामु प्रधानन्यायाधीश कार्कीले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। कार्कीले अवकाश पाउनु केही दिन अघि सम्म उनी बिदामा बस्न लागेका हुन्।
कुँवर असोज ९ गतेसम्म सञ्चित बिदाबाट कट्टा हुनेगरि बिदामा बस्न लागेका हुन्। यसअघि विवाद हुँदा वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले अहिले बिदामा राख्न र आफ्नो कार्यकालमा उचित निर्णय लिने सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।