काठमाडौं– सत्ता गठबन्धनको बैठकअघि गठबन्धनका तीन दलका नेताहरुले छुट्टै छलफल गरेका छन्। गठबन्धनको बैठकअघि उनीहरुले आफ्ना तर्फबाट साझा अजेन्डा तय गरेका बुझिएको छ।
शुक्रबार बिहान ललितपुरको हात्तीवनमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव बेदुराम भुसाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
बैठकमा सहभागी एक नेताले भने आफूहरु एमाले बाहेकको 'वाम मोर्चा' निर्माणका लागि छलफलमा जुटेको बताए। उनले भने, 'आगामी निर्वाचनमा एमाले बाहेकका वामपन्थी दलसँग सके एकता, नभए कार्यगत एकता गरेर जाने विषयमा छलफल भएको छ। उपेन्द्रजी पनि आफूलाई वामपन्थी नेता नै ठान्ने भएकाले बसेका हौं।'
सत्ता गठबन्धनको बैठक शुक्रबार ५ बजे बस्दैछ। बैठकअघि नेताहरुले समान धारणा बनाउन छलफल गरेको ती नेताले बताए।
गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पेल्दै गइरहेको महसुस यी सहयात्री दलका नेताहरुले गरेका छन्। उनीहरुले सार्वजनिक रुपमा पनि सत्ता गठबन्धनले आफूहरुमाथि गरेको व्यवहारको टिप्पणी गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।