काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेका छन्।
नुवाकोटको ककनी गाउँपालिका-६ स्थित ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरिएको प्रकाशको सालिकको शुक्रबार अध्यक्ष प्रचण्डले अनावरण गरेका हुन्। सालिक अनावरणका लागि उनी बुहारी बिना मगरसहित पुगेका थिए।
अध्यक्ष प्रचण्डले प्रकाशको सालिक अनावरण गर्न आफूलाई अफ्ट्यारो लागेको बताएका थिए।
'अलिक अफ्ट्यारो महसुस गरेको थिएँ। यसले राम्रो सन्देश जान्छ कि जाँदैन भन्ने थियो' सालिक अनावरणपछि प्रचण्डले भने, 'उहाँहरुले सगरमाथा आरोहण गर्नेहरुको सम्मानको लागि भनेकाले ठिक लाग्यो।' प्रकाशको सालिकका लागि अनुरोध र माग गरेर गरिएको पहल नभइ पर्वतारोहण संघले आवश्यकता महसुस गरेर निर्माण गरेको उनको भनाइ छ।

'प्रकाशको मात्र होइन सबै सगरमाथा आरोहीहरु सबैको सम्मान गर्ने प्रकृयाको नयाँ सुरुवात हो भन्ने मैले महसुस गरेको छु' उनले भने।
प्रकाश लगायतको सगरमाथा आरोहरणले युद्ध मात्र होइन माओवादी शान्तिका लागि लुम्बिनीदेखि सगरमाथा सम्म पुग्न सक्छ भन्ने प्रमाणित गरेको उनले बताए।

सगरमाथाको चुचुरोमा पनि माओवादी पुग्न सक्छ भन्ने देखाउन खोज्ने कुराले ठूलो सन्देश गएको उनले बताए। अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन विकासका लागि नेपाल भन्दा उर्वर ठाउँ अन्यन्त्र नरहेको उनले बताए। पर्यटनको विकासको निमित्त पर्वतहरु अनन्त स्रोत भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।