काठमाडौं– शुक्रबार अपराह्न सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ५ बजे बैठक बोलाइएको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए।
भुसालका वर्तमान राजनीतिक गतिविधि र चुनावको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। खास गरेर गठबन्धनको दल जनता समाजवादी पार्टीले सरकारमा रहेका केही मन्त्रीहरु फिर्ता बोलाउने प्रस्ताव बैठकमा गर्ने जनाइएको छ।
जनता समाजवादी पार्टीमा अहिले अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षधरबीच असमझदारी बढेर पार्टी विभाजनको अवस्थामा पुगेको छ।
अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईले एक–आपसमा छलफल गरेर समझदारीमै 'अलग' हुने निष्कर्ष निकालिसकेको नेताहरुले जनाएका छन्। भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको सन्दर्भमा जसपाले सरकारमा रहेका आफ्ना केही मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ।
गठबन्धनको बैठकमा केही प्रदेशका मुख्यमन्त्री फेर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। खास गरेर बागमती प्रदेशमा गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले मुख्मन्त्रीविरुद्ध हस्ताक्षर संकलन गरेपछि सरकार फेर्ने सम्भावना बढेको छ।
बागमतीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन्। एकीकृत समाजवादीले भने बागमती प्रदेश सरकारको मुख्यमन्त्री छाड्नुपरे सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ। सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।