काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा बहिष्कार गरेको छ । शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट पारित भएको ‘आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।
एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन्। उक्त विषयमा संसदीय छानबिन समिति बनाउन एमालेले माग गर्दै आएको छ।
बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्याएर मुलुकलाई हानी पुर्याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए।
बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए।
त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए।
एमालेले बहिष्कार गरे पनिराष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाए। तिमिल्सिनाले आफ्नो प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए।
बैठकमा अर्थमन्त्रीले पेस गरेको ‘आर्थिक विधेयक २०७९ लाई मूल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ। त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मूलरुपमै सुझाव बिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरे।
त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गरेको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मूलरुपमै सुझाव बिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ। अर्थमन्त्री शर्माले पेस गरेको प्रस्तावमाथिको कारबाही सकिएलगत्तै एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।