काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका १३ जना नेपाली पक्राउ परेका छन्। अवैध रुपमा काम गरिरहेको भन्दै बुधबार उनीहरुलाई पक्राउ गरिएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ।
पक्राउ परेकामध्ये ४ जना कृषि तथा माछा पालनमा मौसमी कामदारमका रूपमा कोरिया पुगेका थिए। तर, ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको पाइएपछि पक्राउ गरिएको कोरियन अध्यागमन अधिकारीहरूले बताएका छन्।
अन्य ९ जना भने सम्झौता अवधि सकिएपछि पनि अध्यागमन ऐन उल्लंघन गर्दै दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका दक्षिण कोरियाको एक सञ्चार माध्यमले उल्लेख गरेको छ।
मौसमी कामदारका रुपमा पुगेका नेपालीले गैरकानुनी काम गरेपछि उनीहरूलाई लैजानले एजेन्ट/कम्पनीलाई समेत कारबाही गरिने त्यहाँको कानुन मन्त्रालयले जनाएको छ।
पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन। पक्राउ परेका सबैलाई नेपाल फर्काउने तयारी गरिएको सुवन अध्यागमन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।