काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेकाले आफूहरुले विधानको व्यवस्था पालना होस् भन्नका लागि छलफल थालेको बताएका छन्।
शेखर कोइराला समूहले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अलग्गै किन छलफल गरिरहेको विषयमा सोधिएको प्रश्नमा उनले पार्टीलाई विधान बमोजिम नै सञ्चालन गर्न दबाब दिनका लागि भेला भएको जानकारी दिए।
उनले पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कुरा आफूहरुलाई जानकारी नभएको बताए। उनले समग्र विषयमा पार्टीभित्र छलफल हुनुपर्नेमा नहुदै निर्णय भइसकेपछि सार्वजनिक हुने र नेता कार्यकर्ताले थाहा पाउने भएकाले आफूहरुले अलग्गै भेला गरेको उनको भनाइ छ।
नेपाली कांग्रेसको विधान अनुसार पार्टी अघि बढ्नुपर्ने कुराहरु धेरै अघिदेखि उठाउँदै आएको भन्दै उनले ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा पार्टी सभापतिले नगरेको र भातृ संगठनहरु निर्माणमा पनि पार्टी सभापतिले एकलौटी रुपमा काम गरेको उनको आरोप छ।
उनले अलग्गै बैठक नभई पार्टीभित्रको छलफल र परामर्श निरन्तर रुपमा चल्ने भएकाले त्यतिमात्र भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।