काठमाडौं– विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ। असार २७ र २८ गतेका लागि बोलाइएको बैठक भने मधेस प्रदेशको एक मात्र महानगर वीरगंजमा बस्नेछ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक यही २०७९ साल आषाढ २७–२८ गते (सोमबार–मंगलबार) का दिन मधेश प्रदेशको वीरगंजमा हुने भएको सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ।’
मधेश क्षेत्रबाटै उदाएको भए पनि उपेन्द्र यादव नेतृत्वको पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई काठमाडौंमै केन्द्रित गर्दै आएको थियो। त्यसैले पार्टीका बैठक र आन्तरिक संघर्ष पनि काठमाडौंकै भूमिमा भएको थियो। तर, यसपटक भने पार्टीले मधेस ‘सम्झिएको’ छ।
जसपाको उपेन्द्र यादवले केही दिनअघि आफू पक्षका कार्यकारिणी सदस्यहरुको बैठक बोलाएर मन्त्रीहरु फिर्ता बोलाउने लगायतका निर्णय गरेका थिए। त्यसपछि बुधबार मात्रै उपेन्द्र यादव र डा बाबुराम भट्टराईले सहमतिमै अलग्गिने समझदारी गरेका थिए।
विवादको प्रारम्भमा भट्टराई पक्षसँग कार्यकारिणी समिति र संसदीय दलमा बहुमत रहेको बताइन्थ्यो। तर पछिल्लो पटक यादवले आफ्नो प्रभाव बढाएको बताइएको छ।
त्यसैले पनि यादवले आफ्नो प्रभाव क्षेत्रमा बैठक आह्वान गरेको आंकलन गरिएको छ। पार्टी विभाजनको मुखमा मधेस क्षेत्रमै बैठक राख्दा बैठकस्थलकै कारण पनि यादवले भावनात्मक लाभ पाउने सम्भावना रहन्छ।
प्रेस नोट जारी गरेका अधिकारीले भने बैठक स्थलको सन्दर्भमा खुलेर प्रतिक्रिया दिन चाहेनन्। ‘जहाँसुकै बैठक बस्न सक्छ। काठमाडौंमै बस्नुपर्छ भन्ने छैन। यसपटक वीरजंगमा बस्ने भन्ने भयो, नेपाल लाइभसँग उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।