काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको बैठक सुरु भएको छ। बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको हो।
नेता चन्द्र भण्डारीले नेपालको पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषय लगायतका विषयमा छलफल गर्न बैठक सुरु भएको जानकारी दिए।
बैठक सुरु हुनुपूर्व सञ्चारकर्मीहरुलाई जानकारी दिँदै नेता भण्डारीले नेपाली कांग्रेसभित्रको छलफल र पार्टीले स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन र गठबन्धनका नेताहरुले समय समयमा बोल्ने कुराले अब आउने संघीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए।
‘पार्टीको आन्तरिक राजनीतिभित्र भातृ संस्था, सरकार पुनर्गठन, पार्टीभित्रका विधान र विधि पालना गर्ने कुरामा अहिलेको परिस्थितिमा छलफल गर्नुपर्ने भएकाले बसेका हौं,’ उनले भने, ‘मुलुकको राजनीति अराजकतातिर नजाओस्। अर्थतन्त्र श्रीलंकाको जस्तो नहोस् भन्ने विषयमा पनि के गर्न सकिन्छ भन्ने विषयमा कुराकानी हुनेछ।’
मुलुकको अवस्था लथालिंग हुन नदिनका लागि सबैले ध्यान दिनुपर्ने भएकाले आफूहरुले छलफल गर्न लागेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।