काठमाडौं– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त गरेर केपी ओली शर्माले नेतृत्व गरेको सरकारले काम गर्न नसक्दा जनतामा निराशा छाएको बताए।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति र कार्यक्रम आवश्यक रहेको बताए। उनले त्यसका लागि गहन छलफल गर्न पूर्व सांसद मञ्च नेपाललाई आग्रह गरेका छन्।
संविधानले समाजवादी बाटोतिर जान निर्देश गरे पनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको धारणा छ।
बिहीबार ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाको सरकारले समृघिका खोक्रा नारा लगाएर आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे।
नेता खनालले भने, ‘दुई तिहाई बहुमतको सरकार बन्यो नि। नेकपाले दुई तिहाई बहुमत ल्यायो। तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो। त्यो भएन।’
भूमि सुधार, कृषिमा क्रान्ति, कृषिमा आधुनिकीरकण, हरेक किसानलाई मल, बीउ, प्राविधिक सेवा, अनुसन्धान उपलब्ध हुने अपेक्षा जनाताले गरे पनि नेकपाको सरकारले त्यो पूरा गर्न नसकेको बताए।
‘अब यो दुई तिहाईको सरकारले गर्ला भन्ने आम जनताले आशा गरे। तर, माछो–माछो भ्यागुतो भयो। केही पनि भएन। एउटा उद्योग पनि बनेन। अनि, जनतामा अहिले निराशा छाउन थाल्यो’, नेता खनालले भने।
उनले संविधान निर्माण भएपछि बेनका सरकारले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्धा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।