काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्।
६४ औं संसद् दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि उक्त आरोप लगाएका हुन्।
नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्र्र्र्बाैं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै उनले आपत्ति जनाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताए।
उनले भने, ‘आज पनि फेरि म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो। तपाईं मिडियाहरुको माध्यमबाट एउटा कुरा जाओस्–आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेको छ रे। तपाईँहरुलाई म सुनाउन चाहन्छु–त्यो चलखेलहरु जो हुन्छन नि! यो चलखेलको पछाडि करोड होईन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ?’
नेता पौडेलले नेपालमा सधैं मलको हाहाकार किन हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका छन्। वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।
उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।