काठमाडौं- नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
पूर्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युताउने मुख्य लक्ष्य लिएको उक्त पार्टीका संयोजक गौतमले त्यसको पहल स्वरुप बिहीबार बिहान एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्।
भेटमा धेरै समय पुराना कुरा स्मरण गरिएको संयोजक गौतमले बताए। दुई वर्षपछि आफूहरुको भेट भएको बताउँदै पुराना कुरामै समय बढी खर्चिएको उनको भनाइ छ।
भेटपछि नेपाल लाइभसँग गौतमले भने, 'झन्डै दुई वर्षपछि उहाँसँग भेट भयो। पुराना-पुराना महत्त्वपूर्ण कुरा गर्यौं। एकताका सन्दर्भमा हाम्रो पार्टीको निर्णय देखाउँदै एकता तथा कार्यगत एकताका लागि पहल गरिदिनु पर्यो कमरेड भन्यौं। उहाँले मेरो पनि त्यस्तै विचार बन्दैछ भन्नुभयो।'
गौतमको प्रस्तावमा उनले थप दस्तावेजहरु हेरिसकेपछि मात्रै खबर गर्ने बताएका छन्। गौतमले आफ्नो पार्टीको योजना र निर्णयको दस्तावेज ओलीलाई बुझाएका छन्। 'तपाईंले भन्नुभयो। तपाईंका दस्तावेज हेर्छु। विचार गर्छु र खबर पठाउँला भन्नुभएकको छ,' गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।