काठमाडौं– नेकपा एमालेका सांसद भीम रावलले कांग्रेस र कम्युनिस्टबीच चुनावी तालमेल हुनु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन्। विपरीत सिद्धान्त भएका राजनीतिक दलहरु चुनावी तालमेलमा जानु संविधानको धारा २६९ को उलंघन भएको रावलको भनाइ छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जित्नका लागि फरक दर्शन र सिद्धान्त भएका दलहरु मिलेर चुनाव लडिरहेको उल्लेख गर्दै संविधानको उक्त धारातर्फ ध्यानाकर्षण गराएका हुन्।
उनले संविधानको उक्त व्यवस्था पढ्दै भने, 'समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिरूले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमार्फत् जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन्।'
यसले समान विचारधारा र दर्शन भएकाहरु मिलेर उक्त विचारमा जनताको समर्थन जुटाउने स्पष्ट रुपमा भनिएको उनले बताए। तर, अहिले विचारधारा नमिल्ने र फरक दर्शन भएकाहरु मिलेर जनताको समर्थन लिन तालमेल भएकाले उक्त कुरा संविधान प्रतिकूल भएको रावलको दाबी छ।
उक्त व्यवस्था वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीक अध्यक्ष माधव नेपाल र आफ्नै पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गरिएको उनले स्मरण गराए।
उनले थपे, 'जनमोर्चाले संघीयता गलत भनिरहेको छ। देउवाले संघीयता विरोधी नारा लगाउन सक्छन्? माओवादीले मार्क्सवाद लेलिनबाद र माओवाद जिन्दावाद भन्छ, के देउवाले त्यसका पक्षमा जिन्दावाद भन्न सक्छन्? कांग्रेसले लोकतान्त्रिक समाजवाद त्यागेर एकीकृत समाजवादीको वैज्ञानिक समाजवाद अंगाल्न सक्छ?'
उनले संविधान अनुरुप चुनावमा जनताको समर्थन प्राप्त गर्न आफ्नै दर्शन र विचार लिएर जानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।