काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
६४औं संसद् दिवसको अवसर पारेर बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री देउवाले यसअघि स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको दाबी समेत गरे।
'गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भइसकेको छ,' देउवाले भने, 'यसैवर्ष प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ।'
प्रधानमन्त्री देउवाले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
'अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं। हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पुर्याइ नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो,' प्रधानमन्त्री देउवाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।