काठमाडौ– गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन्।
मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी गृहमन्त्री खाणले विपद्मा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गरे।
उनले विपद्को जोखिम न्यूनीकरण गर्दै जनताको जिउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौती रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई निर्देशन दिए।
भारी वर्षातपछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो। त्यसका लागि सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयारी अवस्थामा बस्न उनले निर्देशन दिए।
गृहसचिव टेकनारायण पाण्डेले विपद्को प्रतिकार्यका लागि तम्तयार अवस्थामा रहन सबैलाई निर्देशन दिए। विपद्मा अत्यावश्यकीय सेवा सुचारु गर्न पूर्वतयारी गर्न उनले दिर्नेशन दिए।
कार्यक्रममा जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाई विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकारणका तर्फबाट विपद्को पूर्वतयारीका लागि गरिएका कामबारे जानकारी गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।