काठमाडौं– सेयर बजार मापक नेप्से परिसूचक बुधबार वृद्धि भएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट आएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको हो।
बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ।
बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।
नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलबारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ।
त्यस्तै, विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
बुधबार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, वरुण हाइड्रोपावरको सेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ। एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।