काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केरुङ–काठमाडौं रेलमार्ग निर्माण नेपालले गर्न नसक्ने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन्।
उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता जानकारी दिनुपर्ने बताए। नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने उनले बताए।
नेपाल गरिब राष्ट्र भएकाले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनको भनाइ छ। उनले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताए।
महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको उल्लेख गरे। एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको अवस्थामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत हुने उनको भनाइ छ।
चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै उनले चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने तर्क व्यक्त गरे।
महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए। डकुमेन्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनताहरु भड्किरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।