काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन्।
नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने उनको भनाइ छ। महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए।
नेपाल गरीब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनले बताए। नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।
महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताए। एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए।
चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै उनले चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने बताए।
'बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन। हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ। आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ। सामाना लैजाउ बाटो दिन्छौँ। हामी गरिब राष्ट्र छौँ, तिमीहरुको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई भन्न सक्नुपर्छ' उनले भने, 'नेपालले ढुकुटीको पैसा लगानी गरेर वा सफ्ट लोन लिएर हामीले बनाउन सक्छौँ, भन्दै गर्दा सोच्ने भनेको मेचीदेखि महाकालीको रेल हो।'
महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए। डकुमेण्ट बनाउन मन्त्रिमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनताहरु भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।