काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग छुट्टिएर गएका नेताहरुलाई फेरि आफ्नो नेतृत्वमा आउन आह्वान गरेका छन्।
जनता र कार्यकर्ताको चाहना माओवादीको पुन: एकीकरण रहेको बताउँदै उनले सवैले आत्मसमीक्षा गरेर एक ठाउँ उभिनुपर्ने बताए।
बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफ्नो नेतृत्वमा माओवादीको पुन: एकीकरण सम्भव भएको बताए।
प्रचण्डले भने, 'साथीहरुले पनि फेरि पनि नेतृत्व गर्न आह्वान गर्नुभयो, धन्यवाद। यथार्थ त्यही नै हो। माओवादी आन्दोलनलाई एकीकृत गर्ने काम प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ। मेरा थुप्रै कमजोरी भए पनि यथार्त यहि हो। साथीहरुलाई फेरि प्रचण्डकहाँ जाने भनेर लाज लाग्न सक्छ। लाज नमानौं। राष्ट्र र जनताको आवश्यकता हो।'
अहिले सवैतिर माओवादी एकठाउँ आउनुपर्ने चेतनाको विकास भएको उनले बताए। 'पहिला क्रान्ति यताबाट पनि होला कि? भन्ने नेता र जनतालाई लाग्यो। तर अहिले जनता पनि आजित भएर सवैलाई एक ठाउँ उभिन भन्न थाले,' उनले थपे, 'कार्यकर्ताको भावना पनि हुँदो रहेछ। अन्तत: आउनुपर्ने त्यही चुनाव मा रहेछ। यही बाटोमा आउनु नै पर्ने भएपनि झन् किन अलग हुनुपर्यो ? जनता नै इतिहासका निर्माता हुन्। सवैले आत्मसमीक्षा गरौं। एकपटक एक ठाउँमा उभियौं मात्रै भने भौतिक शक्तिमा परिवर्तन हुन्छ। त्यस्तो शक्तिलाई कसैले रोक्न सक्दैन।'
यही क्रममा उनले नेकपा एमालेतिर लागेका रामबहादुर थापा बादललाई छुट्टै व्यंग्य कसे। उनले आफ्नो कमजोरी उदार हुने रहेको बताउँदै छुट्टिएर गएका तर फर्केर आउनेको झन् बढी माया लाग्ने उल्लेख गरे।
'मेरो कमजोरी संकीर्ण हुने होइन। मसँग छुट्टिएर गएका साथीहरुप्रति झन् माया लाग्छ। जिम्मा उनीहरुलाई बढी दिउँ दिउँ लाग्छ। मसँग रहेका त आफ्नै हुन् कहिँ गएकै छैनन् भन्ने लाग्छ,' उनले बादलप्रति लक्षित गर्दै थपे, 'फेरि राम्रोसँग विचार नगर्दा गल्ती हुँदो रहेछ। गए नि त साथीहरु। कहाँकहाँ पुगेकालाई महासचिव र गृहमन्त्री बनाइयो। कहाँ हो कहाँ? त्यसैले शतर्क हुनुपर्छ भन्ने लाग्छ। अलि उदार र भावुक हुने बानी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।