काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र 'माओवादीको बिउ' रोपेर आफू फर्केको बताएका छन्। त्यो बिउ केही समयपछि फल्ने र फूल्ने उनको भनाइ छ।
उनले भने, 'एमालेको नेतृत्व गर्ने प्रयास गर्यौ, तर सक्किएन नि भन्ने लागेको हुनसक्छ। तर हामीले त्यहाँ बिउ रोपिएको छ। माओवादीले बिउ रोपेका छौं। केही समयपछि फुल्छ फल्छ।'
उनले एमालेभित्र केपी ओली नहुने हो भने त्यहाँका अरु हजारौं नेता-कार्यकर्ताहरुलई आफूहरुले नेतृत्व गर्न सक्ने बताए। 'एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा बिद्रोह गर्नुपर्यो। त्यो नेतृत्व नहुने हो भने अरु हजारौंलाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ। एमाले भित्रका हजारौं नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ,' उनले भने।
उनले अहिले सबै माओवादीहरु एकै ठाउँ आउन जनताले दबाब दिएको बताए। माओवादीको पुनरुत्थान आफ्नो नेतृत्वमा मात्रै सम्भव रहेको पनि प्रचण्डले दाबी गरे।
नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरणलाई लक्षित गर्दै उनले भने, 'फेरि प्रचण्डकहाँ जाने भनेर लाज लाग्न सक्छ। लाज नमानौं। यथार्थ त्यही नै हो। माओवादीहरुको पुनर्मिलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ। मेरा थुप्रै कमजोरी भएपनि यही यथार्थ हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।