काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ।
यस्तै गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय पनि भएको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए।
दुई दिनदेखि जारी बैठक मंगलबार सम्पन्न भएको हो। केन्द्रीय कमिटीकै बैठकको विस्तारित बैठक भएको भन्दै यसअघि छलफल भएका कुरा पनि पारित भएको उनले बताए।
पार्टी गठन भएपछि पहिलोपटक बसेको बैठकले विभिन्न १७ प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता खतिवडाले जानकारी दिए। ११ समूहको छलफलपछि बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ।
सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउनेगरी छलफल भएको उनले बताए। उनले गठबन्धन भए गठबन्धनमा नभए अघि बढ्नका लागि एक्लै भए पनि निर्वाचन लड्ने निष्कर्ष निकालिएको खतिवडाले जानकारी दिए।
बैठकमा पार्टीभित्रको समस्या समाधान भएको र सबै नेताहरू छलफलमा सहभागी भएको उनले दावी गरे। साथै सरकारलाई अहिलेको महंगी रोक्न र किसानलाई सहज रुपमा मल उपलब्ध गराउन अनुरोध पनि गरिएको छ।
सुकुम्वासी समस्या समाधान आयोगले दिर्घकालीन समस्या समाधान गर्न पनि बैठकले माग गरेको छ। छाडापखाला फैलिने क्रममा देखिएकाले यसको रोकथामका लागि सरकारलाई ध्यान दिन पनि बैठकले माग गरेको छ।
यस्तै नेपालले असंलग्न परराष्ट्र नीति अपनाएकाले एसपीपीमा सहभागी नहुने भनि पत्र पठाएकोमा सरकारलाई धन्यवाद दिने निर्णय बैठकले गरेको छ।
साथै बैठकमा वामपन्थी शक्तिलाई एक भएर एकीकृत पार्टी निर्माणमा लाग्न पनि आग्रह गरिएको उपमहासचिव खतिवडाले जानकारी दिए। साथै देशमा राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक शक्तिहरु पनि एकजुट हुनुपर्ने बैठकले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।