काठमाडौं– राष्ट्रिय सभागृह परिसरमा नेताहरूको निकै भिडभाड थियो। कोही भित्र–बाहिर गरिरहेका थिए। कोही भने कानेखुसी गर्दै थिए। रातो कुर्ता–सुरुवाल लगाएर त्यही भिडमा उभिएकी थिइन् एक महिला। उनी थिइन् बाजुराको हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्की।
गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम राखेकाले काठमाडौं आएकी उनी गएको असार २ गते राष्ट्रिय सभागृह पुगेकी थिइन्।
उनको संघीय राजधानीको यात्रा नै पहिलो पटक भएको हो। ‘यसअघि काठमाडौं कहिल्यै आउने काम परेन। उपाध्यक्ष भएपछि भने आउन पाएँ। टाढा रहेछ। तर, राम्रै रैछ,’ उनले भनिन्। काठमाडौंमा उनी बहिनी ज्वाइँकहाँ बसिन्। अरु आफन्त कोही थिएनन्। उनी सहभागी हुने कार्यक्रममा पनि ज्वाइँले नै पुर्याइदिए।
परिवारका चार जनाको हत्या
जगनाथ गाउँपालिका-१ लुमामा जन्मिएकी राजकला परिवारकी जेठी छोरी हुन्। आर्थिक रुपमा विपन्न भए पनि उनको परिवारमा शिक्षाप्रति सचेतना थियो। सोही कारण उनले सानै उमेरदेखि विद्यालय जाने अवसर पाइन्। तर, ११ वर्षकै उमेरमा बुबा गुमाउनुपर्यो। २०५९ मंसिर ७ गते तत्कालीन विद्रोही माओवादी र शाही नेपाली सेनाको भिडन्तमा उनका बुवा मारिएका थिए।
उक्त भिडन्तमा उनका बुवा मात्रै नभएर खेतमा काम गर्दै गरेका अन्य तीन सदस्य पनि मारिए। मृत्यु हुनेमा साइँला बुवा मोती सार्की, मामा रनमल बिटालो र काका गगने सार्की थिए। ‘घरमा कमाउने छोरा मान्छे एकैसाथ मारिएपछि निकै गाह्रो भयो। तर, पनि हाम्रो पढाइ र लालनपालनको लागि आमाले निकै दुःख गर्नुभयो’, राजकला भन्छिन्।
श्रीमानको सहयोग
पढ्दापढ्दै हिमाली गाउँपालिका–६ धिमका रुपमल सार्कीसँग उनले भागेर विवाह गरिन्। भनिन्छ, ‘हरेक सफल व्यक्तिको पछाडी जीवनसाथीको हात हुन्छ।’ राजकलाको जिन्दगीमा पनि श्रीमान रुपमल सहयोगी बने। उनले विवाहपछि पनि राजकलाको पढाइमा बाधा हुन दिएनन्।
घर सम्हाल्दै राजकलाले एसएलसी पास गरिन्। पछि मुगुको रातामाटाबाट कक्षा १२ पनि उत्तीर्ण गरिन्।
धिमको ६५ परिवार दलित समुदायमा राजकला सबैभन्दा शिक्षित बुहारी हुन्। सोही कारण पनि समुदायमा उनको पहिचान बेग्लै छ। गाउँघरमा हुने सामाजिक काममा सधैं उनी सरिक हुन्छिन्।
देश निर्वाचनको संघारमा रहँदा धिमगाउँका किसान भने बाली भित्र्याउँदै थिए। राजकलाका परिवार पनि बाली भित्र्याउन व्यस्त थिए। यता राजकला गाउँपालिका उपाध्यक्षको उम्मेदवार भएका कारण उनलाई बोझ नहोस् भनेर रुपमलले घरको काम सबै आफैंले गरेर फुर्सद् दिए।
‘म नेतृत्वमा आउनु उहाँकै देन हो। उहाँले मेरो हरेक पाइला–पाइलामा सहयोग गर्नुभएको छ। घरायासी कामदेखि अन्य खर्च जोहो गर्ने काम सबै उहाँले नै गर्नुहुन्छ’, उनी भन्छिन्, ‘प्रचार–प्रसारमा असर पर्छ भनेर उहाँले बाली भित्र्याउने बेला कुनै काम गर्न दिनुभएन। म सोही कारण पनि जनताको घरदैलोमा भनेको समयमा जान पाएँ।’
यतिबेला पनि गाउँमा रोपाइँको चटारो सकिएको छैन। रोप्नेरी पाउन मुस्किल हुन्छ। तर, पार्टीको प्रशिक्षणका लागि काठमाडौं आउन रुपमलले नै प्रेरित गरे। ‘तिमी आफ्नो जिम्मेवारी पूरा गर। बरु मान्छे लगाउँला, तिमी घरको काममा अल्झिनुहुन्न भन्नुहुन्छ श्रीमानले’, राजकलाले सुनाइन्।
पार्टीप्रति सधैं लगनशील
राजकलाका माइती माओवादी समर्थक हुन्। तर, कोही पनि सक्रिय राजनीतिमा लागेका थिएनन्। यता रुपमलका परिवार भने एमाले समर्थक। उनको परिवार मात्रै होइन, त्यहाँको पूरै दलित समुदाय एमाले समर्थक। राजनीतिक पृष्ठभूमि नभए पनि समुदायमा सबैभन्दा धेरै शिक्षित बुहारी भएका कारण उनलाई राजनीतिमा आउन सहज भयो।
यसपटक मात्रै होइन, अघिल्लो निर्वाचनमा पनि राजकला हिमाली गाउँपालिकाको उपाध्यक्षकै उम्मेदवार बनेकी थिइन्। तर, त्यसबेला भने उनले जित्न सकिनन्। उनको लगनशीलता र इमानदारिताकै कारण उनले पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको टिकट पाएकी हुन्।
सक्रिय कार्यकर्ताका रुपमा पार्टीमा होमिएको भने धेरै भएको छैन। पहिलो निर्वाचनमा पराजित भए पनि पार्टीले जिल्ला कमिटीमा मनोनीत गर्यो। त्यसपछि १०औं महाधिवेशनमा उनी जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन्।
पछिल्लो पाँच वर्षमा उनले राजनीति र नेतृत्वबारे धेरै कुरा सिक्ने मौका पाइन्। उनलाई जसरी पनि आफ्नो गाउँ विकासका लागि नेतृत्वमा पुग्नु थियो।
दलित नेताका अप्ठ्यारा अनेक
अशिक्षा, गरिबी र पछौटेपन मात्रै होइन, मध्य तथा सुदूरपश्चिमका दुर्गम क्षेत्रमा जातीय भेदभाव पनि उत्तिकै छ। पहिलो निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भएकी थिइन्। तर, हार्नुको मुख्य कारण भने उनी कथित तल्लो जातकी हुनु रहेको राजकलाको अनुभव छ।
‘पहिलोपटक भोट माग्न जाँदा गाउँलेले नै एक त महिला त्यसमाथि दलित नेता भए कसरी नमस्कार गर्नु? सम्म पनि भने,’ राजकला भन्छिन्, ‘सायद त्यही कारण पनि मैले पहिलोपटक निर्वाचन जित्न सकिनँ होला।’
सुरुमा त उनलाई आफ्नै समुदायका मानिसले पनि शंकाको दृष्टिले हेरेका थिए। ‘अन्य समुदायमा मात्रै होइन, मेरै समुदायका मानिसले पनि दलित महिलाले नेतृत्व गर्न सक्छे कि नाई भनेर शंका गरे’, उनी भन्छिन्, ‘तर, मैले मेरा समुदायका सबैलाई मनाएँ। मेरो नेतृत्व हुँदा समुदायलाई कति फाइदा हुन्छ भन्ने कुरा बुझाएँ। पछि सबै एक भएर नेतृत्वका लागि पार्टीमा पनि दबाब बढायौं।’
दलित समुदाय एक हुँदा निर्वाचित
एक त महिला त्यसमाथि विपन्न दलित समुदायबाट भएकाले पनि राजकलालाई निर्वाचन जित्न सहज थिएन। त्यसैमा उनी पहिलेदेखि श्रीमानसँग कोल्टीमा बस्दै आएका थिइन्। गाउँमा धेरै नबसेकाले पनि राजकलालाई त्यहाँको माहोलबारे खासै जानकारी थिएन।
निर्वाचनमा उठ्ने भएपछि उनी धिम आइन् र प्रचार प्रसारको काममा जुटिन्। पहिले त उनलाई आफ्नै समुदायलाई एक बनाउन समय लाग्यो। किनकि, पहिलो निर्वाचनमा उनले पराजय भोग्नुका पछाडि समुदायसँग घुलमिल नहुनुलाई पनि एक कारणका रुपमा लिएकी थिइन्।
‘म नेतृत्वका लागि सक्षम छु। मेरो नेतृत्व भयो भने आफ्नो समुदायको लागि केही गर्न सक्छु भनेर सबैलाई विश्वास दिलाएँ’, उनी भन्छिन्, ‘समुदायका सबै एक भएपछि अन्यत्र मत माग्न जान पनि सहज भयो।’
आफ्नो समुदायको बाहुल्यता हुँदा पनि चुनाव जित्न सहज भएको उनको अनुभव छ। तर, चुनाव जित्न लागि पैसा खर्च गर्नुपर्ने विकृतिबाट उनी हैरान छिन्। उनीसँग भने पैसा थिएन। उनका श्रीमान कुखुरा फार्म चलाउँछन्। त्यही फार्मबाट आएको पैसाले घरखर्च चल्छ। ‘पैसा नै नभएकी मान्छे कसरी चुनाव जित्ली भनेर प्रश्न पनि गरे। पहिलो पटक हार्दाको दोस्रो कारण मसँग टन्न सम्पत्ति नहुनु पनि हो,’ उनी भन्छिन्।
अन्ततः दोस्रो पटक उनी विजयी भइन्। उनले गत निर्वाचनमा २ हजार ३६७ मत ल्याएकी थिइन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी कमला रावत (रोकाया)ले २ हजार २८६ मत पाइन्। पार्टीप्रतिको लगनशीलता र समाजका लागि केही गर्नसक्छु भन्ने आँटकै कारण आफूले दोस्रोपटक पनि टिकट पाएको र जितेको उनी बताउँछिन्।
उनले अब आफ्नो क्षेत्रमा व्याप्त रहेको विभेद अन्त्य गर्ने अठोट लिएकी छिन्। आफूजस्तै विपन्न समुदायका महिलालाई नेतृत्वमा पुर्याउनु आफ्नो सपना भएको उनी बताउँछिन्। ‘म उपाध्यक्ष भएपछि मात्रै काठमाडौं आउन पाएँ। हुन त सम्पन्न परिवारका छोरीहरु अध्ययनका लागि आउँछन्। तर, मेरो चाहना हामीजस्ता विपन्न समुदायका छोरीहरुले पनि राजधानीसँग आफ्नो आवाज राख्न पाउन्। यसका लागि मेरो गाउँपालिकामा छोरीहरुको शिक्षाका लागि केही गर्न चाहन्छु’, उनी भन्छिन्।
बालविवाह, छाउ (महिनावारि) हुँदा गोठमा बस्नुपर्ने कुप्रथा र जातीय विभेदजस्ता कुसंस्कार अन्त्यका लागि योजना बनाउने बताएकी छन्। उनी सुदूरपश्चिमका स्थानीय तहमा दलित समुदायबाट उपाध्यक्षको नेतृत्वगर्ने एक्ली महिला हुन्।
संघीय राजधानीबाहिरका मानिसलाई काठमाडौं आएपछि यहाँका धार्मिकस्थल एकपटक पुग्ने चाहना हुन्छ।राजकलालाई पनि यहाँ आएपछि पशुपति र स्वयम्भू पुग्छु भन्ने सोंच थियो। तर, जुन कुरा अन्त्य गर्न उनी लड्ने अठोटमा छिन् त्यसैले उनलाई मन लागेको ठाउँमा पुग्नबाट रोक्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।